खेलकुद

एनआरटीले च्यासललाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत

काठमाडौँ । चौंथो संस्करणको ललित स्मृति अठार वर्षमुनि (यु–१८) फुटबल च्याम्पियनसिपमा न्यूरोड टिम (एनआरटी) ले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एनआरटीले च्यासललाई ४–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद शुरुआत गरेको हो । एनआरटीको जितमा राजन माझीले पहिलो गोल गर्दै खाता खोले । उनले खेल सुरुआती एक मिनेटमा नै पहिलो गोल गरे ।

त्यस्तै खेलको पहिलो हाफको ४४औँ मिनेटमा च्यासलका श्याम लोपचन तामाङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको पहिलो हाफसम्म १–१ गोलको बराबरीमा टुङ्गिएको खेलमा एनआरटीले खेलको दोस्रो हाफमा तीन गोल थप्यो ।

खेलको ५४औँ मिनेटमा एनआरटीका कृतिशरत्न छुन्जुले एक गोल थपे । त्यस्तै खेलको ८२औँ मिनेटमा एनआरटीका सुजन शर्माले एक गोल गरे भने एनआरटीका लागि अन्तिम गोल खेलको ८७औँ मिनेटमा विवेक राईले गरे । असार ३१ गतेसम्म चल्ने सो प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लब सहभागी छन् ।

जसमा थ्री स्टार, मनाङ मस्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ, जावला खेल युथ क्लब, सङ्कटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज र न्युरोड टिम एनआरटी सहभागी छन् । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले तीन लाख प्राप्त गर्दा उपविजेताले रु एक लाख ५० हजार पाउनेछ ।