पर्यटन/संस्कृति

‘तेस्रो राष्ट्रिय लोकवार्ता कङ्ग्रेस’ सम्मेलन शुक्रबारदेखि

काठमाडौँ । नेपाली लोकवार्ता तथा संस्कृति समाजको आयोजनामा शुक्रबार र शनिबार ‘तेस्रो राष्ट्रिय लोकवार्ता कङ्ग्रेस’ सम्मेलन हुने भएको छ । संस्कृतिलाई परम्परामुखी मात्र नबनाइ मानिसको जीवनसँग जोड्न सम्मेलन आयोजना गर्न लागिएको समाजमा अध्यक्ष तुलसी दिवसले जानकारी गराए ।

सम्मेलनमा विभिन्न जातजातिका ४६ लोकवार्ता र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा लोकवार्ता तथा अभौतिक सांस्कृतिक सम्पदा, लोकवार्ता तथा विकासका सन्र्दभहरु, लोकवार्ता, लैङ्गिकता तथा शक्ति, पर्यटन तथा सांस्कृतिक उद्योग, लोकवार्ताको राजनीति तथा राजनीतिको लोकवार्ता विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

अध्यक्ष दिवसले मुलुकका विभिन्न ठाउँका संस्कृतिका गरिएका अध्ययनबारे सम्मेलनमा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा लोकवार्ता, संस्कृति, लोकसाहित्य, समाजशास्त्र, मानवशास्त्र, संगीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भूगोल, कम्युष्टर विज्ञान, इञ्जिनीयरिङ्ग जस्ता विभिन्न विधासँग सम्बन्धित शिक्षक, विद्यार्थी, अनुसन्धाताले अनुसन्धान र प्रयोग गर्ने साझा मञ्च हुने उनले बताए ।

यसअघि समाजले छ वटा अन्तर्राष्ट्रिय लोकवार्ता तथा संस्कृति सम्मेलन आयोजना गरिसकेको छ । अध्यक्ष दिवसले विभिन्न जाजातिको संस्कृतिको अध्ययन गरेर इतिहासका तथ्यलाई बाहिर ल्याउने ति जातिको लोक जीवनस्तर वृद्धि गर्नसमेत सहयोग पुग्ने बताए ।

समाजले नेपाली लोकसंस्कृति र परम्परालाई अध्ययन गरेर विभिन्न जातजातिको रहनसहनका पुस्तक र दृश्य प्रकाशन गर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष अभि सुवेदीले नेपालका पुराना संस्कृतिको अध्ययन गरी सम्मेलनमार्फत संरक्षणका लागि लागि सरकारसँग पहल गरिने बताए । नेपाल पर्यटन वोर्ड भुकुटीमण्डमा हुने सम्मेलनमा ८० जनाको सहभागिता हुनेछ ।