कृषि

अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

लमजुङ । जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट पाँच करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका हुन् ।

गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो रु ६०० देखि ८०० सम्म बिक्री भएको थियो । यस वर्ष प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा अलैँची दाना बिक्री गरेको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले जनाएको छ ।

जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए तर अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेनन् । अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो रु एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची दाना बिक्री गर्न बाध्य हुँदै आएका छन् । यस वर्ष २० लाख अलैँची नर्सरी बिरुवा जिल्लामा उत्पादन भएको थियो भने १२ लाख ९९ हजार ५०० बिरुवा बिक्री भएको थियो ।

उक्त अलैँची बिरुवाबाट जिल्लाका कृषकलाई रु ६४ लाख ९७ हजार ५०० आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा लमजुङका अध्यक्ष अजय तामाङले जानकारी दिए। उनका अनुसार जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन गर्नेमा मस्र्याङ्दी गाउँपालिकाका अलैँची कृषक रहेका छन् ।

जिल्लामा ७०० मिटर देखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलसाई र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामसाई र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने । कृषकले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । करीब एक हजार ५६ हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ ।

लमजुङमा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारले कृषकले भने जति मूल्यमा अलैँची दाना बिक्री वितरण गर्न सकेनन् । लमजुङमा उत्पादित अलैँचीको दाना भारतमा बिक्री हुने गर्दछ । अन्तर्राष्ट्रिय मूल्यअनुसार बिक्री गर्न जिल्लाका कृषक बाध्य हुँदै आएको जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले बताउनुभयो । उनले भने, “आगामी दिनमा भारतमा मात्र नभई तेस्रो मुलुकमा समेत बिक्री गर्ने तयारी भइरहेको छ ।”

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४० कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो । यस वर्षसमेत केही दिनमा ४० अलैँची कृषक छनोट गरी अलैँची भट्टी वितरण गरिने अलैँची महासङ्घ लमजुङले जनाएको छ । जिल्लामा ३५ हजार अलैँची कृषक रहेका छन् ।