बाग्मती

समृद्धिका लागि तीनवटै सरकारबीच समन्वय हुनुपर्छः मुख्यमन्त्री

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको विकास र समृद्धिका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच उच्चस्तरको सहयोग, समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।

आज यहाँ शुरु भएको प्रदेश परिषद्को दोस्रो बैठकलाई उद्घाटन गर्दै उनले नेपालको संविधानभन्दा माथि कोही पनि छैन, त्यसैले स्वायत्त भएको भन्दैमा स्थानीय सरकार सर्वोपरि नभएको बताए ।

मुख्यमन्त्री पौडेलले भने, “हामीले हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरेनौँ भने मुलुकमा समृद्धि प्राप्त हुँदैन, हामी परिवर्तनको वाहक हौँ भनेर मात्र हुँदैन, हामीले सामाजिक र आर्थिक रुपान्तरण गर्न जरुरी छ ।” 

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक बनाउन विपन्न, गरीब, उत्पीडित, पिछडिएका र विकासबाट वञ्चित रहेका समुदायको उन्नयनका लागि तीनवटै सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशबाट प्रकाशित वस्तु विवरण समेटिएको पुस्तक सार्वजनिकसमेत भएको थियो । दुई दिनसम्म चल्ने सो बैठकमा प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका २३८ प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ ।