अन्तर्राष्ट्रिय

‘अत्यधिक गर्मी’का कारण चार रेलयात्रीको मृत्यु

नयाँ दिल्ली । भारतमा विगत दुई हप्तादेखि बढेको ‘अत्यधिक गर्मी’का कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको मङ्गलबार भारतीय अधिकारी तथा प्रत्यक्षदर्शी यात्रुले बताएका छन् । मृतक रेलयात्री चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ । मृतकमध्ये एक जना ८१ बर्षीय वृद्ध भएको पनि बताइएको छ ।

मृतकको शव झाँसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको एक समूह कोयम्बतूर गइरहेको थियो । भारतीय रेल सेवाका प्रवक्ता अजित कूमार सिंहले एएफपीलाई भने, “रेल यात्रुको मृत्युको कारण अत्यधिक गर्मी हुनसक्ने बताए। यो साच्चिकै अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको छ ।” उनले भने, “रेल जव झाँसी नजिकै पुगेको थियो त्यति नै वेला एक यात्रु विरामी भएको भनेर हामीलाई फोन आयो ।

तत्काल स्वास्थ्यकर्मी सहितको टोली त्यहाँ पुग्दा यस पहिले नै तीन जनाको मृत्यु भइसकेको थियो ।” “एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भयो,” सिंहले भने। उक्त दिन उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको बताइएको छ ।