लुम्बिनी

वर्षौदेखि राजश्व सङ्कलन नभएपछि छोटी भन्सार कार्यालय कामविहीन

नवलपरासी । नवलपरासीमा रहेका सबै छोटी भन्सार कार्यालय कामविहीन बनेका छन् । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयको अन्तर्गत रहेका सबै छोटी भन्सार कार्यालयमा वर्षौदेखि राजश्व सङ्कलन गर्ने काम नहुने भएपछि कार्यालय कामविहीन बनेका हुन् ।

महेशपुर मुल भन्सारअन्तर्गत पश्चिम नवलपरासी प्रसौनी, भुजहवा र बिष्णुपुरा छोटी यसैगरी पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार कार्यालय छन् । सबै छोटी भन्सार प्रभावकारीविहीन बन्न बाध्य भएका छन् । सबै छोटी भन्सार कार्यालयमा कर्मचारीसमेत बस्ने गरेका छैनन् । राजश्व सङ्कलनको काम नहुने र दरबन्दीअनुसार कर्मचारी नहुँदा छोटी भन्सारमा कर्मचारी पठाउन समस्या भएको महेशपुर मुल भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माले बताए ।

कुनै पनि छोटी भन्सार कार्यालयको राजश्व सङ्कलनको काम हुँदैन । केही छोटी भन्सार कार्यालयमा भारतीय बजारबाट नेपालको नजिकको बजार आउने सवारीसधानका लागि अस्थायी अनुमतिपत्र दिने मात्र काम हुन्छ भने भुजहवा र बिष्णुपुरा छोटी भन्सार कार्यालयमा सो कामसमेत बन्द छ । भन्सार विभागबाट ती छोटी भन्सार कार्यालयबाट राजश्व सङ्कलनको काम गर्ने गरी अनुमतिप्राप्त छैन । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयलाई मात्र राजश्व सङ्कलन गर्ने अधिकार छ ।