समाचार

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध प्रर्दशन

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध आज प्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आयोगको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । लोकसेवा तयारी तदर्थ सङ्र्घष समिति गठन गरेर उक्त निर्णय विरुद्ध आन्दोलन तथा दबाब मूलक कार्यक्रम भन्दै प्रदर्शन गरेको हो । सोमबार समितिले सरकारलाई स्थानीय तहको विज्ञापन रद्द गरेर स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो ।

प्रदर्शनकारीहरुले लोकसेवामा हस्तक्षेप चाहिदैन, नातावाद, कृपावाद भित्र्याउन पाइँदैन, लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रशासन सेवा समूहको नायब सुब्बाको तयारी गरिरहेका बर्दिया गेरुवा गाउँपालिका–३ का लक्ष्मण अधिकारीले विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारबाट वञ्चित गराउन खोजेकाले आन्दोलन गर्नुपरेको बताए ।

यस्तै बाजुराको मार्तडीका चन्द्रा खड्काले आफू क्याम्पसको परीक्षा नै नदिएर स्थानीय तहको तयारीमा लागेको भन्दै अहिले आएर समितिका मान्छेले आफ्नालाई करारमा नियुक्त गरेर हामीलाई वञ्चित गराउन लागेकाले आन्दोलन गर्नुपरेको बताए । सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो ।