समाचार

पाँच पटक सांसद बनेका श्रेष्ठ भ्रष्टाचार निवारण अभियानमा सक्रिय

नारायण । जीवनको अधिकांश समय राजनीति र लाभको पदमा बिताएका ८१ वर्षीय भीमबहादुर श्रेष्ठ विगत एक दशकयता भ्रष्टाचार निवारण अभियानमा सक्रिय छन् । युवा अवस्थादेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय श्रेष्ठ जिल्ला पञ्चायतको एक पटक उपसभापति, दुई पटक सभापति, चारपटक सांसद र एक पटक राष्ट्रियसभा सदस्य भएर जनताको सेवा गरिसकेका छन् ।

पछिल्लो समय विसं २०६५ सालयता उनको ध्यान भ्रष्टाचारविरुद्धको अभियानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको सदस्य हुँदै विसं २०६९ मा उनकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था दर्ता भयो । त्यही संस्थामार्फत् भ्रष्टाचार निवारणका लागि उनी अनवरत रुपमा लागि परेका छन् ।

हालै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गठन गरेको भ्रष्टाचारविरुद्ध निगरानी नागरिक संस्था (सिटिजन जुरी) को संयोजक पनि उनलाई बनाइएको छ । होचो कद र फुर्तिलो शरीर भएका श्रेष्ठ यिनै दुई संस्थामार्फत् भ्रष्ट्राचार न्यूनीकरण गर्न सक्रिय छन् । विभिन्न कार्यालयमा चिठी बोकेर आफैँ पुग्नु हुने श्रेष्ठको जीवनको एउटै लक्ष्य भ्रष्टाचारमुक्त समाज बनाएका हुन् । भ्रष्टाचार रोक्न जनतामा सचेतना आवश्यक पर्ने भन्दै उनले भने, “पहिले राजनीतिक नेतृत्व नै सुधार गर्न जरुरी छ । इमान्दार बन्नुपर्छ ।” जानी नजानी राजनीतिमा लागेको बताउँदै उहाँले राजनीतिलाई देश बनाउने मूल कुरा हो भन्ने ठानेको बताए ।

राजनीति बिना देश सुध्रदैन भन्ने ठानेर म कम्युनिष्टबाट काङ्ग्रेस पनि भए श्रेष्ठले थपे, “काङ्ग्रेसमा लाग्दा पनि मुलुकमा बेथिति देखियो, भ्रष्टाचारका जाला देखियो । तत्कालनै त्यसको अन्त्य नगरिकन काम छैन ।” रातमा सपनामा पनि भ्रष्टाचार रोक्ने अभियानमा आफू लागेको देख्ने गरेको भन्दै उहाँले जुन देशमा भ्रष्टाचार छैन, त्यो देश बनेका छन् भने ।

सानातिना भ्रष्टाचार कर्मचारीबाट भए पनि नीतिगत भ्रष्टाचार नेताबाट हुने गरेको श्रेष्ठको ठम्याइ छ । आफैँ भ्रष्ट भएपछि उसको नैतिक बलनै नहुने श्रेष्ठको भनाइ छ । विसं १९९५ मा तनहुँको सामु भगवतीमा जन्मनुभएका श्रेष्ठ २१ वर्षको उमेरदेखि चितवनको स्थायी बासिन्दा भए । त्यसअघि नै विसं २००९ मा बाल्यकाल देखिनै उनको सङ्गत कम्युनिष्टसँग भयो । श्रेष्ठले भने, “काठमाडौँमा म पढ्न बसेको घर पुष्पलालको कान्छा बा को रहेछ । त्यहीबाट मैले कम्युनिष्ट सिके ।”

विसं २०१५ को निर्वाचनमा आफूले कम्युनिष्ट पार्टीको उम्मेदवारलाई जिताउन निर्वाचनमा एजेन्ट बस्नुभएका श्रेष्ठको बाल्यकाल र युवा अवस्था लुकेरै भए पनि कम्युनिष्ट नेतासँगको सङ्गतमा बित्यो । जुन घरमा उहाँ डेरामा बस्नुहुन्थ्यो त्यही घरमा लुक्न आएका मनमोहन अधिकारी संगको सम्बन्ध निकट बन्यो ।

विसं २०२२ मा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहसँग नजिक हुँदै राजनीतिक यात्रालाई अगाडि बढाउनुभएका श्रेष्ठ त्यसपछिको १० वर्षसम्म जिल्ला पञ्चायत चितवनको उपसभापति र सभापति भएर काम गरे। पञ्चायतको सभापति हुँदै गर्दा गोरखपुर पुगेर लुकीछिपी पुष्पलालसहितका नेतालाई भेट्ने गरेको उनले बताए ।

कम्युनिष्ट पार्टीको सचिव हुँदै २०३५ सालदेखि २०४८ सम्ममा चार पटक उनी सांसद बने । विसं २०५२ मा नेपाली काङ्ग्रेस प्रवेश गरेपछि एक पटक राष्ट्रियसभा सदस्य भएका श्रेष्ठले अर्को पटक भने संविधान सभाको निर्वाचनमा पराजय भोग्नु प¥यो । पञ्चायतकालीन समयका एक हस्ती श्रेष्ठ अहिले वृद्ध उमेरमा भने भ्रष्टाचार रोक्न दिल ज्यान दिएर लागि परेका छन् ।