स्वास्थ्य

ज्येष्ठ नागरिक– अशक्तको स्वास्थ्य परीक्षण गर्न घरदैलो

विदुर । नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ मा ज्येष्ठ नागरिक तथा अशक्तको स्वास्थ्य परीक्षण गर्न आइतबारदेखि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको छ । वडा कार्यालय तथा स्वास्थ्य केन्द्रको आयोजनामा गाउँमा रहेका उनीहरुको स्वास्थ्य परीक्षण गर्न परिचारिकाहरु घरदैलो अभियानमा लागेको वडा नम्बर १ का वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार बिरामीले आफूलाई भएको समस्या वा रोग बताउन लाज मान्ने र कोही अशक्त भएकाले स्वास्थ्य संस्थामा आउन नसक्ने हुनाले स्वास्थकर्मीलाई घरघरमा नर्स परिचालन गरिएको हो ।

स्वास्थ्य परीक्षणका क्रममा सामान्य रोग देखिएमा औषधि वितरण गरिने र जटिल रोग देखिएमा जिल्ला अस्पताल पठाइने गाउँपालिकाको कार्यालयले जनाएको छ । वडाका प्रत्येक गाउँबस्ती र टोलमा सेवा दिइने भएकाले स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न वडा नम्बर १ कार्यालयले सबैलाई आग्रह गरेको छ । सो वडाको कार्यक्रम प्रभावकारी देखिएको भन्दै गाउँपालिकाले अन्य वडामा समेत घरदैलो स्वास्थ्य परीक्षणको कार्यक्रम चलाउने गाउँपालिका कार्यालयले जनाएको छ ।