बाग्मती

चित्तपोल पलाँसे सडक निर्माण शुरु

भक्तपुर । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको नालाबाट सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोड्ने सडक (कालोपत्र, फुटपाथ र ड्रेनसहित रहने गरी) विस्तार गर्न थालिएको छ । सङ्घीय सरकारबाट विनियोजित रु छ करोडको लागतमा विस्तार गर्न लागिएको उक्त सडक प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योग मन्त्री मेहश बस्नेतले आज शिलान्यास गरे ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट यहाँका प्रतिपक्षी आत्तिएको टिप्पणी गर्दै आगामी दिन राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएपछि जिल्लाको विकास देखेर उनीहरू विकासका लागि लागेका जनताको शरणमा आउने जिकिर गरे ।

विकासको हिसाबले देशकै उत्कृष्ट र नेतृत्वदायी यो जिल्ला बन्नेमा जोड दिँदै उनले विकासका लागि जनतालेभन्दा बढी जनप्रतिनिधिले चासो लिन सके मात्र विकास तीव्र गतिमा हुने बताए ।  यस वर्ष भक्तपुरका सडकका लागि आफ्नो पहलमा करीब रु ५६ करोड बजेट ल्याउन सफल भएको चर्चा गर्दै सांसद बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गरेको छ भने।

भक्तपुरमा सङ्घीय सरकारबाट रु पाँच करोडभन्दा बढीको लागतमा १० वटा सडक निर्माण एवं विस्तार भएको छ भन्दै उनले चितापोलको नाला, सल्लाघारी, भङ्गाल, वडा कार्यालय हुँदै अरनिको राजमार्ग जोड्ने सडक, ध्याम्पेडाँडा–रानीकोट सडक, चारदोवाटोदेखी–बालकोट सडक, बालकोट– बिरुवा सडक, खहरे–गुण्डु बसर्पाक सडक, गुण्डु–वडा कार्यालय जाने सडक, लोगो गार्मेन–कृषि तालीम केन्द्र जाने सडक, दधिकोट–तर्खागाल सडक, ज्योति लिङ्गेश्वर–झौखेल जाने सडक विस्तारको क्रममा रहेको जानकारी दिए ।