बाग्मती

हिला र अशक्तलाई छुट्टै टिकट काउण्टर

भरतपुर । भरतपुर अस्पतालमा महिला र अशक्त बिरामीलाई लक्षित गरेर छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको सेवा प्रभावकारी बनाउन आइतबारदेखि छुट्टै टिकट काउण्टर सञ्चालनमा ल्याएको भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले जानकारी दिए ।

हाल सञ्चालनमा रहेका टिकट काउण्टरलाई व्यवस्थित गर्दै महिला र ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्टै टिकट काउण्टरको व्यवस्था गरिएको उनले बताए । भरतपुर अस्पतालले नियमित रुपमा पाँच वटा टिकट काउण्टर सञ्चालनमा ल्याइरहेको छ ।

“काउण्टर व्यवस्थापनपश्चात् बिरामीले आधा घण्टाभन्दा बढी कुर्नु पर्दैन”, बगालेले भने, “ओपिडी पनि व्यवस्थित गर्ने योजनामा छौँ ।” उनले बीमाका बिरामीको उपचार र औषधि वितरणमा समेत सहजता प्रदान गरिरहेको बताए । बीमाको औषधि वितरणमा पनि काउण्टर थप गर्ने तयारी गरेको उनले जानकारी दिए ।

भरतपुर अस्पतालमा दैनिक ७०० भन्दा बढी बीमाका बिरामी उपचारका लागि आउने गरेका छन् । गर्मी समयमा बिरामीको चाप बढेपछि सीमित स्रोतसाधनलाई व्यवस्थापन समस्या परेको अस्पताल प्रशासनले जनाएको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पतालमा स्तरोन्नति भए पनि दरबन्दी भने जिल्ला अस्पतालको छ । गर्मी समयमा दैनिक एक हजार ५०० बिरामी भरतपुर अस्पतालको ओपिडीमा उपचारका लागि आउने गरेका छन् ।