अन्तर्राष्ट्रिय

सडक किनाराको बम विस्फोटमा परी छको मृत्यु

कान्दाहार । आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गरेका छन् ।

आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै परिवारका रहेको बताइएको छ ।

कान्दाहार प्रान्तको ठूलो भागमा आत्मघाती र सडक किनारमा बम राख्न सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैनन् ।