अन्तर्राष्ट्रिय

व्यवसायका लागि अफ्रिकामा प्रशस्त अवसर

आदिस अबाबा । अफ्रिकी यूनियन (एयू) का पूर्वाधार तथा ऊर्जा आयुक्त अमानी अबुजाइदले अफ्रिकामा विदेशी व्यवसाय र साझेदारीका लागि अत्यन्त उपयुक्त अवसर रहेको बताएक छन् ।

रुसको सेन्टपिटर्सबर्गमा हालै आयोजित रुस–अफ्रिका संवाद कार्यक्रममा सम्बोधन गर्दै आयुक्त अबुजाइदले पूर्वाधार, ऊर्जा, डिजिटलाइजेसन, कृषि, शिक्षा र विज्ञान प्रविधिका क्षेत्रमा लगानीका अवसर रहेको बताए ।

विश्वव्यापी मामिलामा अफ्रिकाको आवाज एकै हुने गरेको र यो महादेश अझ बढी एकताबद्ध रहेको चर्चा गर्दै उनले भने – लगानीकर्ता र व्यावसायिक साझेदारीका लागि यस्तो एकताले थप सहयोग गर्दछ ।

रुस–अफ्रिका संवादका क्रममा रुस र अफ्रिकी मुलुकहरुबीचको रणनीतिक साझेदारीलाई अझ विस्तृत तुल्याउने विषयमा छलफल भएको बताइएको छ । उक्त संवादमा अफ्रिकाका ५५ मुलुकको सहभागिता रहेको थियो ।

अफ्रिकी संवादका अवसरमा आयुक्त अबुजाइदले अन्तर्राष्ट्रिय कम्पनीहरुका उच्च व्यक्तित्वसँग अफ्रिकी महादेशभित्र क्षेत्रीय स्तरका ठूला परियोजनामा लगानीका अवसर बारेमा द्विपक्षीय छलफल समेत गरेका थिए।