बाग्मती

थली साँखु सडक तत्काल स्तरोन्नति गर्ने

साँखु । काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ । कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिकासँग विद्यार्थी र स्थानीयवासीको सहमतिपछि आन्दोलन फिर्ता लिएको छ ।

चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि आज बिहान अनिश्चित समयसम्म बन्दको आह्वान गर्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासीले सडक खण्डको विभिन्न ठाउँमा टायर बान्दै आन्दोलन गरेका थिए । आन्दोलित भएका हुन् । सडक निर्माणमा विलम्ब गरिएको भन्दै आक्रोशित युवाले सवारी आवागमन ठप्प पार्दै ठेक्का लिएर काम नगर्ने ठेकेदारविरुद्ध कारवाही गर्न पनि माग गरेका थिए ।

स्थानीयवासीको आन्दोलनपछि भएको छलफलमा सङ्घर्ष समिति र नगरपालिकाबीच तीनबुँदे सहमति भएको छ । सम्झौतापत्रमा तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, नगर कार्यपालिका सदस्य बबिता दाहाल कुइँकेल र सङ्घर्ष समितिका तर्फबाट पवोल बज्राचार्य, निराजन नेपाल, मनिष सिम्खडालगायतबीच सहमति भएको हो । यसअघि पनि बौद्ध, जोरपाटीलगायत क्षेत्रमा पनि सडक निर्माणमा विलम्ब भएपछि यसैगरी प्रदर्शन भएको थियो ।

स्मरण रहोस् सरकारले गत २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीहरुले यो सडकको विस्तारको जिम्मा पाएका थिए । अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन ।