उर्जा

योगीकुटी–धकधई प्रसारण लाइन संचालनपछि विद्युत् आपूर्ति सुधार भयोः कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आजदेखि योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । रुपन्देहीमा निर्माण भएको करीब ३३ किलोमिटर लामो उक्त प्रसारण लाइन आइतबार साँझदेखि सञ्चालनमा आएको हो ।

औद्योगिक क्षेत्रका रुपमा तीव्र विकास भइरहेको भैरहवाको विद्युत् आपूर्तिलाई सुधार गर्न उक्त प्रसारण लाइन सहयोगी हुने प्राधिकरणले विश्वास लिएको छ । भैरहवा र त्यस क्षेत्रमा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ३३/११ केभीको सवस्टेसनको पनि परीक्षण शुरु गरिएको प्राधिकरणले जनाएको छ ।

उक्त प्रसारण लाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । “योगीकुटी सवस्टेसनबाट चार/पाँच वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी फिडरमा ओभरलोडको समस्या थियो भने मागअनुसार विद्युत् आपूर्ति गर्न सकिरहेका थिएनौँ”, कार्यकारी निर्देशक घिसिङले भने, “योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सवस्टेसन सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा रहेको भोल्टेज, लाइन ट्रिपिङलगायतका समस्या समाधान हुनेछन् । प्राविधिक चुहावट घट्ने छ भने भैरहवा क्षेत्रमा खुल्ने नयाँ उद्योगलाई सहज विद्युत् आपूर्ति गर्न सकिन्छ ।”

भैरहवा सेज परिसरभित्र सवस्टेसन नबने पनि तत्कालका लागि धकधई सवस्टेसनबाट ११ केभी लाइनमार्फत विद्युत् दिन सकिनेछ । आफ्नो परिसरभित्र ३३/११ केभी सवस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सवस्टेसन निर्माणका लागि बोलपत्र प्रक्रियामा रहेको छ । नेपाल सरकार, प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा सञ्चालित विद्युत् वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत योगीकुटी–धकधई प्रसारण लाइन र धकधई सवस्टेसन निर्माण गरिएको हो ।

आयोजनाअन्तर्गत नारायणी नदीको पश्चिममा वितरण लाइन र १२ वटा सवस्टेसन निर्माणका लागि २०७३ को असोजमा ठेक्का सम्झौता भएको थियो । केही सवस्टेसनको निर्माण सम्पन्न भएको र केही निर्माणाधीन अवस्थामा रहेको आयोजना प्रमुख बोधराज ढकालले जानकारी दिए ।

बझाङको बागथला सवस्टेसन सञ्चालन

सुदूरपश्चिम प्रदेशको बझाङमा विद्युत्को पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि निर्माण गरिएको बागथला सवस्टेसन सञ्चालनमा आएको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको ३३÷११ केभी सवस्टेसन आजदेखि सञ्चालनमा आएको हो ।

सवस्टेसनबाट बुङ्ल नगरपालिका र केदारस्यूँ, वित्थडचिर, थलारा तथा दुर्गाथली गाउँपालिका बासिन्दा लाभान्वित हुने प्राधिकरण अत्तरिया क्षेत्रीय कार्यालय प्रमुख सतिशकुमार कर्णले जानकारी दिए । उनले बैतडीको खोडपेबाट करीब ५० किलोमिटर ३३ केभी प्रसारण लाइनबाट विद्युत् लगेर बागथला सवस्टेसनमार्फत वितरण गरिएको जानकारी दिनुभयो । सवस्टेसन निर्माणका लागि २०७४ को वैशाखमा रु पाँच करोड ४० लाखमा ठेक्का सम्झौता भएको थियो ।