बाग्मती

होटल तथा रेष्टुरेन्टमा अनुगमन, भान्सामा कमजोरी भेटियो

चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले आज नारायणगढको लायन्स चोक क्षेत्रमा रहेका सात वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको छ ।

अनुगमनको क्रममा रेष्टुरेन्टहरुले मापदण्ड विपरीत खानामा रङको प्रयोग गरेको पाइएको छ । खाद्य निरीक्षक प्रदीप काफ्लेका अनुसार श्रेष्ठ तन्दुरी रेष्टुरेष्ट एण्ड थकाली भान्साघर, मुगल किचन, ग्राउण्ड जिरो, मामाघर रेष्टुरेन्टमा अत्यधिक रङको प्रयोग गरेको पाइएको हो । यस्तै अनुगमन भएका होटलहरुमा भान्साको व्यवस्थापनमा निकै कमजोरी देखिएको खाद्य निरीक्षक काफ्लेले जानकारी दिए ।

लायन्स चोकमा रहेको ट्रेन्स मःम कर्नर, एभरेष्ट मःम रेष्टुरेष्ट, मुगल किचन, मामाघर रेष्टुरेन्ट, मान्द्रो किचन र श्रेष्ठ तन्दुरीको भान्छामा काम गर्ने व्यक्तिलाई पोशाकको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

अनुगमन टोलीले अनुगमन गरेको रेष्टुरेन्टबाट धेरै दिनदेखि फ्रिजमा राखिएको खाने वस्तुहरु नष्टसमेत गरिएको काफ्लेले बताए । निरीक्षण भएका सबै होटल तथा रेष्टुरेन्टका सञ्चालकसहित मुख्य भान्सेलाई दुई दिनभित्र खाद्य निरीक्षण कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।