अन्तर्राष्ट्रिय

नामिबियामा महिलालाई राजनीतिक विषयमा प्रशिक्षण

विन्ढक । नामिबियामा हुन लागेको राष्ट्रपति निर्वाचनमा मतदान गर्न ४३ वर्षीया सेलिया काधिक्वा निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेकी छिन् ।

तेस्रो पटक मतदान गर्न लागेकी सेलियाले पहिलो पटक मतदानको आवश्यकता र अर्थ बुझ्न थालेकी हुन् । सेलियाझैं नामिबियाका हजारौं महिलाले यसपटक लैंगिक समानता र राजनीतिमा महिला सहभागिताको महत्वबारे बुझ्न तालिम लिइरहेका छन् ।  सेलियाले भनिन् – विगतमा खासै केही नबुझी त्यसै मतदान गरेर फर्किन्थें । अहिले मतदान र राजनीतिका बारेमा मेरो विचार भिन्न छ । 

सन् २०३० भित्र दिगो विकासको लक्ष्य बमोजिम लैंगिक समानता हासिल गर्न नामिबियाले महिलाहरुलाई प्रशिक्षण दिइरहेको छ । “अब क्षेत्रीय परिषद निर्वाचनमा म पनि उम्मेदवार हुन सक्छु कि भन्ने आँट पलाएको छ,” सेलियाले ठट्यौली गर्दै भनिन् । नामिबियाको राष्ट्रिय लैंगिक नीति दस्तावेजका अनुसार नामिबियाले राजनीतिक नेतृत्वमा महिलाको प्रतिनिधित्व गराउने सन्दर्भमा ठोस प्रगति गर्न सकेको छैन ।

अध्ययनहरुले नामिबियाको राष्ट्रिय परिषदमा महिलाको प्रतिनिधित्व पुरुषहरुको दाँजोमा ज्यादै न्यून रहेको देखाएका छन् । हाल, नामिबियाको क्षेत्रीय परिषदमा महिलाको प्रतिनिधित्व १४ प्रतिशत र मन्त्रिपरिषदमा २२ प्रतिशत मात्र छ ।

महिला विकास कार्यसमूहका कार्यकारी निर्देशक सालाटियाल शिनेडिमाले तालिमको मुख्य उद्देश्य नै महिलालाई सीप र ज्ञानबाट सुसज्जित गर्नु रहेको बताइन् । मतदाता वा उम्मेदवार जुनसुकै अवस्थामा पनि महिलाको निर्णय क्षमता विकास गर्न आफ्नो संस्थाले देशैभर प्रशिक्षण चलाइरहेको उनले भनिन् ।

नामिबियास्थित राष्ट्रसंघीय कार्यालयका अनुसार शहरी क्षेत्रमाभन्दा ग्रामीण इलाकामा महिलाको अवस्था अझ कमजोर रहेको छ । महिलाले आफ्ना हक अधिकारको पूर्ण रुपमा उपयोग गर्न निकै कठिन रहेको अध्ययनले देखाएको छ ।