सुदूरपश्चिम

सुत्केरी भत्ता नपाएको गुनासो

बझाङ । बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् ।

राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला अस्पताल बझाङले भने साउनदेखि सुत्केरीलाई भत्ता नदिएको पाइएको छ ।

तल्कोट गाउँपालिका–९ का सोमबहादुर थापाकी श्रीमती रुपादेवी थापाले पाउनुपर्ने सुत्केरी भत्ताको रकम अझै नपाएको सोमबहादुरले गुनासो गरीन । परिवार स्वास्थ्य महाशाखा काठमाडौँले रकम नपठाइदिँदा सुत्केरीलाई सो भत्ता वितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा .सन्दीप ओखेडाले बताए ।

रकम उपलब्ध स्थानीय तहमार्फत हुने भए तापनि अहिलेसम्म अस्पतालमा नपुगेको तर स्वास्थ्यका लागि केही रकम स्थानीय तहको खातामा आइसकेको जिल्ला स्वास्थ्यका प्रमुख डा. ओखेडाको भनाइ छ । एघार महीनायता अस्पतालमा सुत्केरी हुने महिलाको सङ्ख्या ५३५ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।