राजनीति

तोकीएको समयमा गृहमन्त्री जवाफ दिन नआउने भएपछि मङ्गलबारसम्मका लागि प्रतिनिधिसभा स्थगित

काठमाडौँ । अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो ।

संविधानबमोजिम गरिएको शान्तिपूर्ण विरोधमा भएको दमनको यथार्थ विवरण नआएसम्म बैठक अघि बढ्न नसक्ने काँग्रेसको अडान थियो ।

सभामुख कृष्णबहादुर महराले गृहमन्त्री आएपछि जवाफ दिन समय दिने गरी पटक पटक बैठक चलाउन खोजे पनि प्रमुख प्रतिपक्षी दलले नमानेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । निर्धारित समयमा गृहमन्त्री जवाफ दिन आउन नसक्ने भएपछि मङ्गलबारसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।

सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण, सञ्चार तथा सूचना प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची थियो ।