राजनीति

नेता खाँणको प्रश्न- संविधान विपरीत बारम्बार विधेयक किन आउँछ ?

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्ता र प्रतिपक्षका सांसदले सरकारले संसद्मा दर्ता गराएको गुठी विधेयकको विरोध गर्दै फिर्ता लिन माग गरेका छन् । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले आइतबार माइतीघरमा शान्तिपूर्ण विरोध गर्दा गुठियारमाथि भएको दमनको विरोध गर्दै आफ्ना आसनबाट उठेर विरोध जनाएका थिए ।  त्यसपछि सभामुख महराले काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिए ।

प्रमुख सचेतक खाँणले आइतबार माइतीघर मण्डलामा धर्म संस्कृतिको संरक्षणको माग गर्दै संविधानबमोजिम शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने अधिकारको उपहास भएको बताए । “संविधान विपरीत बारम्बार विधेयक किन आउँछ ? राम्रोसँग संविधान अध्ययन गरेर विधेयक ल्याइयोस्, गुठीको अस्तित्व समाप्त गर्ने नियमप्रति हाम्रो गम्भीर आपत्ति छ, सनातन धर्म संस्कृतिको संरक्षण होस्”, उनले भने। सत्ता पक्ष नेकपाकी सांसद पम्फा भुसालले आइतबार माइतीघर मण्डलामा भएको दमनको विरोध गरे । गुठी विधेयक फिर्ता गरी सहमतिका साथ नयाँ विधेयक ल्याउन उनले माग गरे।

“रातो मच्छिन्द्रनाथ जस्ता एक हजार ७०० वर्ष पुराना गुठीको संरक्षण हुनुपर्छ, विधेयकमा आएको व्यवस्था ठीक छैन, यसमा सहमतिको प्रयास होस्”, सांसद भुसालले भने । नेपाली काँग्रेसका पुष्पा भुसालले उपत्यकामै दुई हजारभन्दा बढी गुठी रहेकाले संविधानको गलत व्याख्या गरेर गुठी जग्गामा धावा बोल्न खोजिएकामा आपत्ति जनाए। लिच्छविकालदेखि चलिआएको धर्म संस्कृति संरक्षणका लागि गुठीको अस्तित्व मास्नु नहुने उनको भनाइ थियो ।