बाग्मती

‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ चल्न सकेन

चितवन् । द टिम्बर कर्पोरेशन नेपाल लिमिटेडको भरतपुर कार्यालय परिसरमा निर्माण गरिएको ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ काठको अभाव र यसको महत्व बुझाउन नसक्दा प्रयोगविहीन बनेको छ । नेपालमानै पहिलो पटक सरकारी तवरबाट यो प्लान्ट स्थापना गरिएको हो ।

कर्पोरेशनले नेपाल सरकारको रु दुई करोड ५० लाख अनुदान लिएर निर्माण गरी विसं २०७५ फागुन महीनाबाट सञ्चालनमा ल्याएको थियो । सो प्लान्ट अहिले आवश्यक काठ प्राप्त गर्न नसक्दा र यसबाट उत्पादित काठले बजार नपाउँदा बन्द अवस्थामा रहेको छ । जिल्लामा काठको माग बढ्ने तर यसबाट उत्पादित काठको प्रयोग गर्ने सेवाग्राही नहुँदा समस्या आएको कार्यालयका निमित्त प्रमुख हिमलाल बरालले जानकारी दिए।

यस क्षेत्रमा सालको काठ पाइने भएपछि प्रशोधित काठ भन्दा साल तर्फ सर्वसाधारण आकर्षित भएको देखिन्छ । बरालका अनुसार यस प्लान्टले सिसौ, टिक, करना, सल्लो, असना जस्ता काठलाई प्रशोधन गरी सुकाएर सालको काठ जस्तै बलियो बनाउँछ । प्रशोधन गरिएको काठ धमिरा लाग्ने र पसाङ्गीने समस्याबाटमुक्त हुन्छ । यहाँ सालको काठ प्रति क्युफिट रु तीन हजार ८०० पर्दछ भने प्रशोधन भएको काठ रु दुई हजार देखि रु दुई हजार ४०० सम्म पर्ने बरालले बताए ।

मूल्य सस्तो पर्ने भए पनि सर्वसाधारणमा जनचेतनाको अभावमा काठ बिक्री हुनसकेको छैन । कार्यालयले परीक्षणपछि एक हजार ४०० क्युफिट प्रशोधन गरेकोमा तीन सय क्युफिट मात्र बिक्री भएको छ । प्लान्ट सञ्चालनमा आएलगत्तै दश पटक ‘ट्रिटमेन्ट’ र दुई पटक ‘सिजनिङ’ को काम गरेपछि अहिले सो प्लान्ट सञ्चालनमा आउन सकेको छैन ।

यस प्लान्टले एक पटकमा सिजनिङ् गर्दा १० दिनमा सात सय क्यूफिट र ट्रिटमेन्ट गर्दा चार घण्टामा दुई सय क्यूफिट काठ उत्पादन गर्ने क्षमता राख्दछ । एकवर्ष अगाडि नरम जातका काठलाई सिजनिङ र ट्रिटमेन्ट गरी गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित सरकारीस्तरबाट नेपालमा पहिलो पटक निर्माण गरिएको हो ।

बरालका अनुसार यस क्षेत्रमा प्रशोधन गर्ने काठको पनि अभाव रहेको छ । अहिले काठ आयात र बजार व्यवस्थापनका लागि कार्यालयले गृहकार्य शुरु गरेको छ । जनस्तरमा सिजनिङ र ट्रिटमेन्ट गरिएका काठको फाइदाको बारेमा जानकारी गराउन सकेमा मात्रै प्लान्टको उत्पादनले काम गर्ने उनको भनाइ थियो ।