प्रदेश 2

दलित बालबालिका छात्रवृत्तिबाट वञ्चित

लहान । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा निकास नदिँदा सो विद्यालयका करीब एक सयभन्दा बढी दलित विद्यार्थी हालसम्म छात्रवृत्तिबाट वञ्चित भएका हुन् ।

गत वर्ष २०७४ चैत महीनायता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेको उक्त विद्यालयका विद्यार्थीहरुले बताएका छन् । छात्रवृत्तिका लागि विद्यालयमा सोधखोज गर्दा नगरपालिकाबाट निकासा नभएकाले वितरण गर्न नसकिएको भन्दै फर्काउने गरेको स्थानीय अभिभावक शत्रुधन सदाले जानकारी दिए ।

गत वर्ष विद्यालयले छात्रवृत्तिबापत प्रतिविद्यार्थी रु ५०० का दरले ८५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । छात्रवृत्तिका लागि अहिलेसम्म नगरपालिकाले रकम नपठाएकाले वितरण गर्न नसकिएको विद्यालयका प्रधानाध्यापक मनिकलाल यादवले बताए। नगरपालिकामा पटक पटक छात्रवृत्ति रकमका लागि ताकेदा गरे पनि अझै प्राप्त नभएकाले वितरणमा ढिलाइ भएको प्रअ यादवको भनाइ छ । यता मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवणकुमार यादवले विद्यालयले समयमा विद्यार्थीहरुको विवरण पेश गर्न नसकेकाले छात्रवृत्ति रकम निकासा गर्न नसकिएको बताए ।