समाचार

कांग्रेसको जागरण अभियानमा पार्टी प्रवेशको लहर, उपनिर्वाचन तत्काल गराउन माग

धरान । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री महेश आचार्यले नेपाली जनताले लडेर ल्याएको संविधानलाई ओली सरकारले पालना नगरेको बताएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको सभालाई सम्बोधन गर्दै नेता आचार्यले नेकपा नेतृत्वको सरकारले संविधान, लोकतन्त्र र सुशासनको जगलाई नै भत्काउन लागेको बताएका हुन् । प्रधानमन्त्री ओलीले मनोपोलीढंगले सरकार चलाइरहेको उनले बताए । ’संविधानमा १ बर्ष पनि कार्यकाल बाँकी छ भने चुनाव गर्नुपर्ने र जनतालाई आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकार छ, तर धरान लगायत विभिन्न स्थानमा ओली नेतृत्वको सरकारले उप निर्वाचन नगराएर जनताको आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारबाट बञ्चित गराएको बताए ।

संविधानले ग्यारेण्टी गरेको पुर्णप्रेस स्वतन्त्रताविरुद्ध दुई तिहाईको सरकारले प्रेस स्वतन्त्रताको गला निमोठ्ने गरी मिडिया काउन्सिल विधेयक ल्याएको, मानवअधिकार आयोगको पनि स्वतन्त्रता र स्वायत्ततालाई अपहरण गर्ने गरी र सेना परिचालनको अधिकार पनि प्रधानमन्त्रीलाई दिने गरि विधेयक संसदमा लगिएकोले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भईरहेको नेता आचार्यले दाबी गरे ।

वाइडबडी प्रकरणमा बोल्दै नेता आचार्यले सरकारले भ्रष्टचारलाई संस्थागतरुपमा संरक्षण गरेको आरोप लगाए । भ्रष्टचार भए नभएको बिषयमा सरकारले जनतासामु प्रष्ट पार्नुपर्ने उनले माग गरे । उनले धरानको प्रसंग जोड्दै निरन्तर २८ बर्षदेखि कम्युनिष्टहरुले जितेपनि धरानको विकास र समृद्धि हुन नसकेको बताए । पहिला पुर्वी नेपालको व्यापारिक केन्द्र बनेको धरान अहिले खस्कदै गएको र केन्द्र सरकारबाट अपमानित हुने रोग लागेको पनि उनले बताए ।
कार्यक्रममा नेपाल तरुण दल, धरानका संस्थापक सभापति संदिप श्रेष्ठको पहलमा साविक नेकपा एमाले तथा माओवादी केन्द्रका ३४ जना यूवाहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । नवप्रवेशी सबैलाई नेता आचार्यले अविर लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा संस्थापक सुनसरी सभापति तथा पूर्व सांसद हरिनाथ वास्तोला, संघीय सांसदद्धय सिताराम मेहता र मिना सुब्बा, कार्यक्रमका अध्यक्ष एवम् जिल्ला सभापति राजिव कोइराला, जिल्ला सचिव केदार भण्डारी, धरान नगर सभापति तिलक राई लगायतले पनि मन्तव्य राखेका थिए भने सञ्चालन जिल्ला सचिव सुजेन्द्र तामाङले गरेका थिए । कार्यक्रममा डेङ्गु रोगको रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि जनचेतनामूलक पर्चा वितरण गनुका साथै वीपी प्रतिष्ठानका डा. प्रज्वल प्याकुरेलमार्फत सुसुचित समेत गराइएको थियो ।