अन्तर्राष्ट्रिय

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

मनिला । फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो ।  कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका बालबालिका ४ र ५ बर्षका रहेका छन् ।  दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । फिलिपिन्समा यस्ता दुर्घटना बेला बेलामा भइरहने गरेका छन् ।