सुदूरपश्चिम

हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति

बैतडी । शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले जानकारी दिए।

टिनको छाना उडाउँदा भित्र रहेका २६ बोरा सिमेन्ट, डेस्कबेन्च लगायत अन्य शैक्षिक सामग्री पनि भिजेर नष्ट भएको उनले बताए । कक्षा १, २ र ३ को कक्षाकोठा रहेका भवनको छाना उडाउँदा पठनपाठनसमेत प्रभावित भएको विद्यालयले जनाएको छ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा हाल ३०५ विद्यार्थी अध्ययनरत छन् ।

कक्षा १० सम्म पढाइ हुने सिद्धेश्वर मावि हुक्केडाँडा बैतडीकै नमूनाउन्मुख विद्यालय हो । यस्तै हावाहुरीले नै पाटन नगरपालिका–८ खोडपेमा रहेको भगवती महिला बहुउद्देश्यीय कृषि सहकारी संस्थाको दुईकोठे टिनको छाना पनि उडाएको छ । साथै पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको छ ।