राजनीति

पार्टी बलियो बनाउन काँग्रेस नेता कार्यकर्ताले आफैँबाट सुधार गर्नु आवश्यकः महामन्त्री खड्का

चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई बलियो बनाउनका लागि काँग्रेस नेता कार्यकर्ताले आफैँबाट सुधार गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत आज जिल्लाको कार्यक्रम समापन तथा अग्रजहरुको सम्मान गर्दै उनले सार्वजनिक स्थानमा बसेर कुनै नेतालाई गाली गर्दैमा पार्टी बलियो नबन्ने विचार व्यक्त गरे ।

जागरण अभियान जनताको विचारलाई एक ठाउँमा उभ्याएर पार्टीको भावी कार्यदिशा निर्माणका लागि महत्वपूर्ण बन्ने उनको भनाइ थियो । अभियानले जनताको भावना बुझ्ने काम भएको उनले बताए । पार्टीभित्र निर्णय गर्दा वा काम गर्दा भएका गल्तीलाई सच्याउँदै आम कार्यकर्तामाझ माफी मागेर अघि बढ्ने समय आएको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा बोल्दै उनले काङ्ग्रेसको सिद्धान्तलाई कम्युनिष्टले बेचेको आरोप लगाए । सो अवसरमा काङ्ग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले कार्यकर्तामा एकता आवश्यक रहेको बताए । कार्यकर्ताबीचको एकताले मात्रै पार्टी बलियो बन्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका अग्रज तथा प्रजातन्त्रका सेनानीलाई सम्मान गरिएको थियो । सो अवसरमा महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइरालालगायतले बोलेका थिए ।