गण्डकी प्रदेश

मुटु रोगीलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ कलेजाबाङका एक मुटु रोगीलाई करिब डेढ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । गत जेठ १३ गते हृदयघात हुँदा मुटुको भल्ब फुटेर रगत जमेपछि मणिपाल शिक्षण अस्पतालमा १८ दिन सघन उपचार कक्षमा राखेर उपचार गरिएका ६४ वर्षीय धनबहादुर सार्कीलाई शल्यक्रिया गरी भल्ब फेर्न सहयोग प्राप्त भएको हो ।

स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट सहयोग जुटाएर सार्कीका परिवारलाई हस्तान्तरण गरिएको अगुवा इश्वर भण्डारीले बताए । कमजोर आर्थिक अवस्थाका सार्की परिवारले सहयोगको अपिल गरेका छन् । उनको उपचारका लागि अस्पताल र सामाजिक विकास मन्त्रालयले एक/एक लाख रुपैयाँ छुट दिएका छन् । अहिलेसम्म उनको उपचारमा करिब सात लाख रुपैयाँ खर्च भैसकेको श्रीमती जुनाले बताईन् ।