पर्यटन/संस्कृति

थिमिको मच्छिन्द्रनाथ लोकेश्वरको जात्रा आज

काठमाडौँ । मध्यपुर थिमि–४, बालकुमारीस्थित थिमिको मच्छिन्द्रनाथ लोकेश्वर करुणामयलाई आज साँझ जात्रा गरी मन्दिरमा प्रतिष्ठापन गरिने भएको छ । लोकेश्वरको मूर्तिलाई मर्मत सम्भारका साथै दशकर्म विधिद्वारा प्राण प्रतिष्ठा गरी मन्दिरमा प्रतिष्ठापन गर्न लागेको हो ।

लोकेश्वर करुणामयको मूर्र्तिलाई यसअघि गत सोमबार मन्दिरबाट निकालेर मध्यपुर थिमि–६, गार्चास्थित जिस्वाँ बहाल पुर्‍याइएको थियो । धार्मिक परम्पराअनुसार थिमिको रातो मच्छिन्द्रनाथको रुपमा रहेको लोकेश्वरलाई वर्षमा एक पटक मर्मतसम्भारका लागि मन्दिरबाट निकाली गार्चास्थित जिस्वाँ बहालमा पु¥याउने परम्परा रहेको मन्दिरका पुजारी धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

जिस्वाँ बहालमा पुर्‍याउने क्रममा लोकेश्वरको गरगहना सबै निकाल्नुका साथै सेतो कपडाले बेरेर लगिएको थियो । त्यसअघि चार दिशाबाट ल्याएको पवित्र र चोखो जलले लोकेश्वरको न्हवँ अर्थात महास्नान गराइएको थियो । महास्नानका क्रममा लोकेश्वरलाई दूध र महले समेत नुहाइदिने प्रचलन रहेको बज्राचार्यले बताए।

जिस्वाँ बहालमा लोकेश्वरको मूर्र्तिमा आवश्यक ममर्तसम्भारलगायतका कार्य हुने बज्राचार्यले जानकारी दिए। “जिस्वाँ बहालमा लोकेश्वरको मूर्र्तिमा नयाँ रङरोगनलगायतका काम गरी नयाँजस्तै बनाइन्छ”, उनले भने। सिथिः नखःको अघिल्लो दिन लोकेश्वरको मूर्र्तिलाई तान्त्रिक विधिद्वारा दशकर्म विधि विधानद्वारा पूजा गरी प्राण प्रतिष्ठा गरिन्छ ।

त्यसरी तयार भएको मूर्र्तिलाई सिथिः नखःको दिन बाजागाजासहित जात्रा गरेर बालकुमारीस्थित मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा रहेको बज्राचार्यले जानकारी दिए। काठमाडौँ उपत्यकामा भएका ललितपुरको रातो मच्छिन्द्रनाथ, काठमाडौँ जनबहालको सेतो मच्छिन्द्रनाथ, चोभारको आदिनाथलाई जस्तै थिमिको लोकेश्वरको मूर्र्तिलाई पनि वर्षको एक पटक प्राण प्रतिस्थापन गर्नको लागि परम्परादेखि यो प्रचलन चल्दै आएको उनले बताए।

उनका अनुसार यो परम्परा कहिले शुरु भएको भन्ने बारेमा कुनै शिलालेख वा अन्य ऐतिहासिक प्रमाण फेला नपरे पनि थिमिमा बज्रार्चायको बसोवास नेपाल सम्वतको ६०० वर्षमा भएको देखिएकाले यो परम्परा पनि सोही बेलादेखि शुरु भएको विश्वास गरिएको छ । “तत्कालीन समयमा घरजग्गा बिक्री गर्नुपर्दा वा दृष्टि बन्धक राख्नुपर्दा साक्षीको रुपमा बज्राचार्य गुरुजुलाई राख्ने परम्परा रहेको र सोसम्बन्धी लिखत फेला परेकाले सो बेलादेखि थिमिमा गुरुजुको बसोबास भएको प्रमाण रहेको तथा सोही बेलादेखि लोकेश्वरको यो परम्परा पनि चलेको हुनुपर्छ”, बज्राचार्यले भने।