लुम्बिनी

लालपुर्जा वितरण प्रक्रिया अघि बढेन

बेझाड । रामपुर नगरपालिकाभित्र रहेका अव्यवस्थित घरघडेरीलाई असार मसान्तभित्र लालपुर्जा वितरण गर्ने भनिए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन ।  तीन दशकदेखि लालपुर्जाको आशै आशामा बसेका यहाँका नागरिक लालपुर्जा वितरण प्रक्रिया नबढ्दा निरास बनेका छन् ।

सरकारले पाल्पाको रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा एक किसिमको खुशियाली छाएको थियो । अब छिट्टैनै लालपुर्जा पाइन्छ भन्नेमा खुशी भएका यहाँका नागरिक अहिलेसम्म यसबारेमा कुनै पनि कदम नचाल्दा आक्रोशित बनेका छन् । रामपुर बजारमा ठूला ठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ । उद्योग, व्यापार व्यवसायको सङ्ख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपुर्जा नपाउँदा चिन्तित बनेका छन् ।

विसं २०३५/०३६ सालदेखि हालको रामपुर नगरपालिका–५ मा रहेको रामतुलसी मावि र वडा नं ६ को दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले घर घडेरी बिक्री गरेपछि सोही समयदेखि नै यहाँका स्थानीयवासीले भोगचलन गर्दै आइरहेका छन् ।  रामपुर नगरपालिकाको वडा नं ५, ६ र ७ का ८५६ घर घडेरी लालपुर्जाविहीन बनेको छ । लालपुर्जा हातमा नहुँदा किनबेचमा नै समस्या परेको स्थानीय भेषराज पोखरेलले बताए ।

“जग्गादर्ता आदेश समिति गठन भए पनि यसबारेमा सरोकारवालाले चासो नै नदिँदा कामले गति लिन सकेन, यसको मार नागरिकले खेप्नु परिरहेको छ”, उनले भने । नागरिकलाई लालपुर्जा पाइन्छ भनेर आश्वासन दिएर भुलाउने मात्र काम भइरहेको पम्फा गैरे बताउँछन् । “नेता, जनप्रतिनिधि सबैले लालपुर्जा दिलाएरै छाड्छौँ भन्छन् तर वितरण गर्ने कार्य अगाडि बढेकै छैन, लालपुर्जा पाइने हो कि होइन अन्योल भएको छ”, गैरेले भने । 

विसं २०७१ वैशाख २५ गते रामपुर गाउँ विकास समितिबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपुर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका छन् ।  जग्गादर्ता समिति गठन पनि बन्यो तर वितरण प्रक्रिया भने थालनी भएन । मालपोत र नापी कार्यालयमा कर्मचारी अभावका कारण लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाउन नसकिरहेको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा बताउँछन् ।

यसबारेमा सम्बन्धित निकायमा जानकारी गराइए पनि कर्मचारी व्यवस्थापन नहुँदा समस्या परेको उनको भनाइ थियो । “लामो समयसम्म समस्याका रुपमा अल्झिएको अव्यवस्थित घर घडेरीको समस्याले समाधान भएपछि रामपुरको विकासले गति लिनेछ, लालपुर्जा वितरणका सम्बन्धमा छलफल भइरहेका छन्”, नगरप्रमुख थापा बताउँछन् । लालपुर्जा पाउने आशै आशमा यहाँका स्थानीयवासीले तीन दशक बिताइसके अझै कति कुर्नुपर्ने हो भन्ने गुनासो गर्छन् बेझाडका अर्जुन पौडेल ।

जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले कर्मचारी पदपूर्तिको विषयमा आफू चिन्तन मनन रहेको बताउँदै साउनअगावै कर्मचारी व्यवस्थापन गर्न समस्या पर्ने बताएका छन् । “अव्यवस्थित रुपमा घर घडेरीको पुनरावलोकन गरेर तथ्याङ्क सङ्कलन गरी कर्मचारी व्यवस्थापन भएपछि वितरण प्रक्रिया थालनी हुनेछ”, उनले भने।

लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पाँच सदस्यीय जग्गा दर्ता समिति गठन भएको छ । जसमा रामपुर नगरपालिकाका प्रमुख, नापी कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय प्रमुख सदस्य र मालपोत कार्यालय रामपुरका प्रमुख सदस्य सचिवमा रहेका छन् । मालपोत र नापी कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी नहुँदा लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाउन नसकिएको हो ।

मालपोत कार्यालय रामपुरमा मालपोत अधिकृत एक, नासु चार, खरदार तीन, कम्प्युटर अपरेटर दुई, सह लेखापाल एक र कार्यालय सहयोगी तीन गरी १४ जनाको दरबन्दी रहेको छ । हाल मालपोत अधिकृत एक, कम्प्युटर अपरेटर एक र कार्यालय एक जना रहेका छन् । त्यस्तै नापी कार्यालयमा अमिन तीन, सर्वेक्षक तीन, नापी अधिकृत एक, खरदार एक, लेखापाल एक, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी तीन गरी १३ जनाको दरबन्दी छ । हाल सर्वेक्षक दुई, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एक जना रहेका छन् ।