समाचार

परराष्ट्र नीति-पञ्चशील नेपालको हितमा रहेकोले यो सिद्धान्तलाई छोड्नु हुँदैन

काठमाडौँ । कूटनीतिक क्षेत्रका जानकारहरुले असङ्लग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तलाई नेपालले कहिल्यै छोड्न नहुने तथा यो नै नेपालको हितमा रहेको बताएका छन्। रिपोटर्स क्लबमा शुक्रबार आयोजित साक्षात्कारमा उनीहरुले प्रधानमन्त्रीले गर्ने स्वीट्जरल्याण्ड, बेलायत तथा फ्रान्सको आसन्न भ्रमणले नेपालसहित ती मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विचार व्यक्त गरे।

प्रधानमन्त्री केपी शर्मा ओली जेनेभास्थित आई/एल/ओमा आयोजना शतवार्षिकी कार्यक्रममा वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ ४० राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहनेछ । प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको नेतृत्वमा युरोपका तीन मुलुक स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको औपचारिक भ्रमण ऐतिहासिक हुने बताए ।

उनले प्रमको भ्रमणबाट ती मुलुकमा नेपालको सफल शान्तिप्रक्रियाको अवतरण तथा संविधान निर्माण, प्रजातन्त्रको पुनःस्थापना सन्देश प्रवाह हुने बताए । उनले ती मुलुकबाट नेपालले प्राप्त गर्नसक्ने पूँजी, प्रविधि तथा ज्ञान नेपालको लागि उपयोगी हुने बताउँदै द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि नै दुई मुलुकबीचको छलफलको मुद्दा हुने बताए।

बेलायतका लागि पूर्व राजदूत सुरेशचन्द्र चालिसेले प्रमको बेलायत भ्रमणबाट दुई देशबीचको सम्बन्धमा एउटा इँटा थप्न सहयोग पुग्ने बताउँदै प्रमको बेलायत तथा फ्रान्सको भ्रमणका अवसरमा प्रविधि हस्नान्तरणमा जोड दिनुपर्ने विचार व्यक्त गरे । उनले नेपालको असङ्लग्न परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तलाई कहिल्यै छाड्न नहुने सल्लाह पनि दिए।

दक्षिण एशिया अध्ययन केन्द्रका निर्देशक डा. निश्चलनाथ पाण्डेले नेपाल र बेलायतबीचको दौत्यसम्बन्ध स्थापना भएदेखि सुमधुर सम्बन्ध रहँदै आएको बताए। असङ्लग्न परराष्ट्र नीतिलाई कायम राख्नुपर्नेमा जोड दिँदै उहाँले बेलायत र फ्रान्सका उच्च सरकारी नेतृत्वको नेपाल भ्रमणका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए।