सुदूरपश्चिम

सडक हिलाम्य हुँदा बिरामीलाई सास्ती

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीको चक्रपथ समयमै नबन्दा जिल्ला अस्पताल जाने आउने बिरामीलाई समस्या हुने गरेको छ । बीच बजारमा निर्माणाधीन रहेको चक्रपथ समयमै निर्माण हुन नसक्दा समस्या भएको हो ।

वर्षात् शुरु भइसक्दा पनि ठेकेदारले काम नगरेको र सडकका खाल्डामा पानी जमेर हिलाम्मे भएका कारण बजारदेखि अस्पताल जाने आउने बिरामीलाई थप समस्या भएको छ । सदरमुकाम मार्तडीको बीच बजारमा रहेका तीन सडक अस्तव्यस्त अवस्थामा छन् । बीच बजारमा रहेको ३५४ मिटर सडक र तुफानडाँडादेखि त्रिवेणी चोकसम्मको करीब ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ ।

माथिल्लो बजारमा रहेको सडकको बीच बजारमा हटाउनुपर्ने घर, बिजुलीको पोल नहटाउँदा बीच बजारमा सडक निर्माण अस्तव्यस्त बन्दा बिरामीलाई समस्या भएको स्थानीयले बताएका छन् । बडिमालिका नगरपालिकाले निर्माण गर्न थालेको डिभिजन वन कार्यालयदेखि जिल्ला अस्पतालसम्म १७० मिटर सडक र गौँडाडिलदेखि खुलामञ्चसम्मको १८४ मिटर सडक ठेकेदार कम्पनीले काम नगर्दा हिलाम्मे र अस्तव्यस्त बनेको छ ।

सडक निर्माणकार्य भएको महीनौँ बितिसक्दा पनि निर्माणको जिम्मा लिएका कम्पनीले समयमै सडक निर्माण नगर्दा सो क्षेत्र जाने बाटो हिलाम्मे छ । हिलोका कारण बजारमा आवतजावत गर्ने विद्यार्थी, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिले निकै सास्ती भोग्नुपरेको छ । सडक निर्माणकार्य अधुरै छाडेर ठेकेदारले काम नगर्दा सडक आसपासका पसल र होटल व्यवसायीले समेत हैरानी खेप्दै आएका छन् ।

अहिले सडक निर्माण ढिलाइ हुँदै गएको छ । नगरपालिकाले समयमैै सडक निर्माण गरेको भए आवतजावत गर्न र व्यापारीसमेत ढुक्क हुने नगरपालिकाले दाबी गर्दै आएको छ । सडक छेउछाउका घरधनीले समयमै बाटो खाली नगर्दा केही समस्या भएको तर केही दिनमा निर्माण सम्पन्न हुने नहुनेमा आफू ढुक्क नभएको नगरप्रमुख पदम बडुवालले बताएका छन् ।

सडक नबन्दा जिल्ला अस्पताल बाजुराको भवन निर्माणमा समेत अवरोध पुगेको छ । हाल जिल्ला अस्पताल नयाँ निमार्ण हुने भएकाले पुराना संरचना सबै भवन कम्पनीले यसअघि नै भत्काएको छ । बिरामी राख्ने ठाउँसमेत नभएकाले समस्या भएको हो ।