शिक्षा

शिक्षकलाई प्रारम्भिक कक्षा पठनसीप तालीम

विदुर । प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पु¥याउने हेतुले कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालीम प्रदान गरिएको छ । रुम टु रिडको आर्थिक सहयोगमा पढ्नका लागि कोठाको प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको साक्षरता कार्यक्रमअन्तर्गतका ७८ सामुदायिक विद्यालयका शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालीम प्रदान गरिएको हो ।

साक्षरता कार्यक्रम लागू भएका ७८ विद्यालयका शिक्षकलाई पाँचदिने आधारभूत र तीनदिने पुनर्ताजगी तालीम प्रदान गरिएको कार्यक्रम संयोजक जीवन पुडासैनी जानकारी दिए । तालीममा पठनसीप विकास बढाउन ध्वनि सचेतीकरण, वर्ण चिनारी, शब्दभण्डार, पठन प्रवाह, वोध र लेखनजस्ता तत्वमा आधारित भएर विषयवस्तुमाथि छलफल भएको रुम टु रिडका प्राविधिक अधिकृत एकराज कोइरालाले बताए ।

कक्षा १ र २ मा नेपाली भाषा शिक्षणका लागि बालबालिकामा पठन तथा लेखन सीप विकास गर्ने उद्देश्य राखी नेपाल सरकारको स्वीकृतिमा तयार पारिएको पाठ्यपुस्तकमा ९० मिनेटको कक्षा सञ्चालन हुँदै आएको रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक सुशील तिमल्सिनाले जानकारी दिए ।

साक्षरता कार्यक्रम सञ्चालन हुँदै आइरहेका विद्यालयका पुस्तकालय प्रभावकारी र व्यवस्थित बनाउन पुस्तकालय व्यवस्थापनसम्बन्धी तालीम प्रदान गरिएको छ । तालीममा पुस्तकालयमा पुस्तक कसरी राख्ने, प्रदर्शन कसरी गर्ने, पुस्तक जारी कसरी गर्ने, बालमैत्री पुस्तकालय कसरी बनाउने, पुस्तकालयको दिगोपनाका लागि सरोकारवालाको संलग्नता कसरी बढाउनेजस्ता विषयमा गहन छलफल भएको कार्यक्रम संयोजक पुडासैनीले जानकारी दिए ।

साक्षरता कार्यक्रमअन्तर्गत ७८ विद्यालयमा कक्षा १ र २ का लागि आवश्यक कापी किताब, स्टेशनरी, बालमैत्री टेवल र कक्षा व्यवस्थापनका लागि आवश्यक भौतिक सामग्री सहयोग प्रदान हुँदै आएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । साथै, कार्यक्रमले ७८ विद्यालयमा बालमनोविज्ञानमा आधारित पुस्तक र बालसुलभ विभिन्न सामग्री, पुस्तकालय व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण फर्निचर उपलब्ध गराउँदै आएको छ ।