राजनीति

प्रकाशमानको आक्रोशः काठमाण्डौ हिलो र धुलोको शहर हुंदा पनि ओली सरकार गफमात्र गर्छ ?

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आकार बढेपनि सरकारले ल्याएको बजेट फितलो भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बिहीवारको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद सिंहले बजेटले जनतालाई उत्साह बनाउन नसकेको आरोप लगाएका हुन् ।

‘भूकम्पले भत्काएको धरहरा र रानीपोखरी बनाउन नसक्ने सरकारले प्रदेशमा ठूला कुरा गर्छु भनेको सुहाउँछ ?’ सांसद सिंहले प्रश्न गरे, ‘काठमाडौं हिलो र धूलोको शहरमा परिणत भइरहेको छ, जनताले धूलोको मार खेपिरहेका छन, के सुधार भयो, नेकपाको दुईतिहाइ मतको सरकार कहाँ छ ?’

काठमाडौं क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेता सिंहले कमिसनको खेलका कारण मेलम्चिी आयोजनालाई अलपत्र पारिएको आरोप लगाए ।

‘मेलम्चीको कुरा व्यवस्था परिवर्तन भइसक्यो, ठेकेदार अन्तिम समयमा किन गयो ? कमिसनको खेलबाट भागेर गयो,’ उनले भने, ‘कहिले दशैंमा कहिले नयाँ वर्षमा आउँछ भन्ने ? खोइ त मेलम्ची आएको ?’