अन्तर्राष्ट्रिय

हिजो इदको दिन आठ प्रहरी मारिए

कायरो । देशभरी इद उल फितर पर्व मनाइरहेका बेला बुधबार लडाकूहरूको आक्रमणमा परी इजिप्टमा आठ प्रहरी मारिएका छन् । सिनाई प्रान्तमा रहेको प्रहरी कार्यालयमा भएको आक्रमणमा परी उनीहरू मारिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

घटना भएको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि विभिन्न लडाकू समूहले आक्रमण गर्दै आएका छन् । आक्रमणकारीमध्ये केही समूह इस्लामिक स्टेट (आईएस) लडाकूसँग आवद्ध रहेको पनि बताइएको छ ।

“हिजो बिहानै आतङ्कवादी तत्वहरूले प्रहरी कार्यालयलाई लक्षित गरेर आक्रमण गरेका हुन्,” गृह मन्त्रालयका एक अधिकारीले भने । आक्रमणकारीहरूले गोली प्रहार शुरु गरेपछि भएको दोहोरो गोली हानाहानका क्रममा आक्रमणकारी तर्फका पाँच जना र प्रहरी तर्फका आठ जना मारिएको मन्त्रालयले जनाएको छ ।

घटनास्थलबाट केही लडाकूहरू भागेको र सुरक्षाकर्मीहरूले उनीहरूको खोजी गरिरहेको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । घटनामा परी घाइते भएका सुरक्षाकर्मीतर्फका तीन जनालाई भने उपचारका लागि अस्पताल लगिएको छ । चिकित्सकहरूले मृत्युहुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

सिनाई प्रान्तको प्रान्तीय राजधनी एल अरिश नजिकै रहेको प्रहरी कार्यालयमा भिडन्त भएको अधिकारीहरूले जनाएका छन् । अहिले भने आक्रमण भएको सो कार्यालय सेना र प्रहरीको ठूलो टोलीले घेरेर राखेको छ ।