बाग्मती

नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण

विदुर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गरे। विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेजमा बस्दै आइरहेका प्रहरीले अहिले तीनतले नयाँ भवनमा बस्न पाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको रु ८९ लाख ७७ हजारको बजेटबाट सो भवनको निर्माण गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक थापाले भने, “त्रिपाल, टहरा र कटेजमा बसी नागरिकको सेवा र सुरक्षामा दिनरात खटिएका नेपाल प्रहरीले अब आफ्नै नयाँ भवनमा बसेर सेवा दिनेछन् । नागरिकका समस्यालाई अझ बढी हल गर्ने, सेवा प्रदान गर्नेलगायतका कुरामा प्रहरीले मनन् गर्नु आवश्यक छ ।” त्यस्तै कार्यक्रममा प्रहरी प्रमुख नुवाकोटका कृष्ण पल्लीमगरले १० जनाको दरबन्दी रहेको प्रहरी चौकी समुन्द्रटारमा अहिले पाँच मात्रै कार्यरत रहेकाले र छिट्टै थप जनशक्ति व्यवस्थापन गरिने बताए।