समाचार

सगरमाथाको उचाइ नाप्ने गौतम सम्मानित

काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने टोलीका प्रमुख इञ्जिनीयर खिमलाल गौतमलाई सम्मान गरिएको छ । माछापुच्छ्रे गाउँपालिका–६ धितालका बासिन्दा गौतमलाई बुधबार विश्व वातावरण दिवसका अवसरमा वडा कार्यालयले सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष कर्ण गुरुङ र उपाध्यक्ष कृष्ण दवाडीले दोसल्ला ओढाएर सम्मान गरेका हुन्। जिल्ला नापी कार्यालय कास्कीको प्रमुख नापी अधिकृतका रुपमा कार्यरत गौतम नेतृत्वको टोलीले यही जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेर एक घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाइ सर्वेक्षण गरेको थियो । गाउँपालिका अध्यक्ष गुरुङले सगरमाथाको उचाइ नाप्ने जस्तो ऐतिहासिक र साहसिक काम सम्पन्न गरेर गौतमले गाउँपालिकाको मात्र नभई समग्र देशको इज्जत र प्रतिष्ठा राख्नुभएको बताए ।

सम्मानित व्यक्तित्व गौतमले पहिलोपटक नेपाल आफैँले सगरमाथाको उचाइ सर्वेक्षण गरेको र प्राप्त सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरी छ महीनाभित्र वास्तविक उचाइ सार्वजनिक गरिने बताए । कार्यवाहक वडाध्यक्ष लोकराज अधिकारीले सम्पूर्ण वडावासीकोतर्फबाट गौतमलाई सम्मान गरिएको बताए।