राजनीति

डा कोईरालाको ठोकुवा: ८० प्रतिशत बजेट सिंहदरबारमा राखेर गाँउका जनतालाई अधिकार मिल्दैन

काभ्रे । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौथो महाधिवेशनको शुरुआत गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

नेपाली काङ्ग्रेस पनौती नगरसमितिले आज काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले जागरण अभियानले गर्दा चौथो महाधिवेशन धकेलिने र स्थानीय निर्वाचनमा असर पार्ने भएकाले अब पार्टीले चौथो महाधिवेशन गर्नुपर्ने बताए ।

उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, “पार्टीका लागि जागरण अभियान जरुरी हो कि चौथो महाधिवशेनको शुरुआत गर्न जरुरी हो ?” अहिले काङ्ग्रेसको गाउँपालिका र नगरपालिकाको संरचना नभएको अवस्थामा कसलाई कसरी मान्ने भन्ने प्रश्न उठेको नेता कोइरालाको भनाइ थियो । “मेरै क्षेत्रमा तीन/तीन जना सभापति छन् कसलाई मान्ने”, प्रश्न गर्दै उनले भने, “गाविस वडामा परिणत भइसक्यो कसलाई मान्ने त्यसमा काङ्ग्रेस चुकिरहेको छ ।”

नेता कोइरालाले अहिलेको बजेट ८० प्रतिशत केन्द्रमा, छ प्रतिशत प्रदेशमा र बाँकी १४ प्रतिशत मात्रै स्थानीय तहमा दिइएकाले पनि सरकार अधिकारलाई केन्द्रमा नै राख्न खोजिरहेको आरोप लगाए ।

पार्टीको केन्द्रीय प्रशिक्षण विभागका निर्देशक पुरुषोत्तम दाहालले जिल्ला÷जिल्लामा प्रशिक्षण विभाग गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र कार्यक्रममा विशिष्ट अतिथि, अतिथि भनेर बोलाउने काम बन्द गर्नुपर्ने बताए ।