खेलकुद

राष्ट्रिय पुरुष भलिबलः पुलिस सेमिफाइनलमा

काठमाण्डौ । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक ताीलम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा समूह ‘ख’मा रहेको पुलिसले सोही समूहको गण्डकी प्रदेशलाई ३–० सेटमा पराजित गरेको हो ।

पुलिस आफ्नो एक खेल अघि नै सेमिफाइनल पुगेको छ । पुलिसले गण्डकीलाई २५–२१, २५–१५ र २५–१६ अङ्कले हराएको हो । गण्डकीले पनि चार खेलबाट नौ अङ्क जोड्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । आजै सम्पन्न अर्को खेलमा एपिएफ क्लबले आर्मी क्लबलाई ३–१ सेटमा पराजित ग¥यो । एपिएफले आर्मीलाई २५–१४, २५–२१, २०–२५ र २५–२० अङ्कले हराएको हो । समूह ‘क’बाट एपिएफ तीन खेलबाट नौ अङ्क जोड्दै सेमिफाइलनमा प्रवेश गरेको छ ।

नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लबसहित सात प्रदेशका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
‘लिग कम नकआउट’का आधारमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।