खेलकुद

मेयर कप क्रिकेटः दशरथचन्द च्याम्पियन

बैतडी । मेयर कप क्रिकेट प्रतियोगिताको च्याम्पियन दशरथचन्द नगरपालिका–५ दशरथचन्द बनेको छ । देहिमाडौँस्थित निङ्गलाशैनी खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा दशरथचन्द–५ ले दशरथचन्द नगरपालिका–२ देहिमाडौँलाई नौ विकेटले हराउँदै उपाधि जितेको हो ।

उपाधिसँगै दशरथचन्दले रु ५० हजार पुरस्कार प्राप्त गरेको छ । उप–विजेता देहिमाडौँले रु ३० हजार पुरस्कारमा चित्त बुझायो । टस हारेपछि ब्याटिङ गर्दै देहिमाडौँले १७ दशमलव एक ओभरमा ९४ रन मात्र बनायो । दशरथचन्दले ९५ रनको लक्ष्य नौ ओभरमा एक विकेट गुमाउँदै पूरा ग¥यो । दशरथचन्दका लागि रवीन चन्दले ५३ रनको योगदान दिए । बलिङतर्फ देहिमाडौँका दीपक बोहराले एक विकेट लिए ।

यसअघि देहिमाडौँका लागि ब्याटिङ गर्दै रोहित थलालले २६ रन बनाए । बलिङतर्फ दशरथचन्दका लागि रवीन चन्द र भोज चन्दले दुई/दुई विकेट लिए । म्यान अफ दी फाइनल दशरथचन्दका रवीन चन्द घोषित भएको स्कोरर दीपेन्द्र बोहराले जानकारी दिए । प्रतियोगितामा देहिमाडौँका दीपक बोहरा म्यान अफ दी सिरिज भए । प्रतियोगिताभर उनले २०१ रन बनाउनुका साथै पाँच विकेट लिएका थिए । उनले रु पाँच हजार पुरस्कार पाए ।

यस्तै एक शतकसहित १९९ रन बनाएका दशरथचन्द–१० बाराकोटका डम्बर बुडाल उत्कृष्ट ब्याट्सम्यान भए । प्रतियोगिताभर ६ विकेट लिएका दशरथचन्दका भोजचन्द उत्कृष्ट बलर चुनिए । दुबै जनाले जनही रु दुई हजार पुरस्कार प्राप्त गरे । विजेता, उप–विजेता र उत्कृष्ट खेलाडीलाई नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्द, नेपाली काङ्ग्रेस बैतडीका पूर्व सभापति शिवराज भट्ट, दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरेका थिए ।