अन्तर्राष्ट्रिय

विश्वकप क्रिकेट, भारतको पहिलो खेल आज

भारत । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । यस प्रतियोगितामा भारतको यो पहिलो खेल हो । विश्वकप जित्ने दाबेदार मानिएको भारतको टोली विराट कोहलीको कप्तानीमा रहेको छ ।

साउथह्याम्प्टनको खेल मैदानमा दक्षिण अफ्रिकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । ब्याटिङका लागि अनुकूल ठानिएको यस मैदानमा दक्षिण अफ्रिकालाई जितका लागि औसत ३५० रन बनाउनुपर्ने चुनौती हुनेछ ।

दक्षिण अफ्रिकालाई इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा १०४ रन तथा बंगलादेशले २१ रनले पराजित गरेको थियो । दुई खेलमा पराजित भइसकेको अफ्रिकाका लागि आजको खेल “गर या मर”को स्थिति रहेको छ ।

भारतीय टिममा रबिन शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, केदार जाधव, एमएस धोनी, हार्दिक पान्ड्या, विनय कुमार, कुलदीप यादव, वाईएस चहल र जेजे बुमराह रहेका छन् । फाफ डु प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकी टिममा हासिम आम्ला, क्वीन्टन डि कक, भान डर डुसेन, डेभिड मिलर, जेपी डुमिनी, एएल फेलुक्वायो, क्रिस मोरिस, कागिसो राबाडा, इमरान ताहिर र टी शाम्सी रहेका छन् ।