पर्यटन/संस्कृति

इद उल फित्रका अवसरमा विपन्नलाई सहयोग

रामपुर । इस्लाम धर्मावलम्बीले आज इद उल फित्रका अवसरमा पाल्पाको रामपुरमा रहेका गरीब, दीनदुःखी तथा विपन्न परिवारलाई सहयोग प्रदान गरेका छन् । रामपुर नगरपालिका – ४, इस्लामपुरमा रहेका इस्लाम धर्मावलम्बीले एकापसमा खुशी साटासाटा गर्दै मनाएको इदुल फित्रका अवसरमा मुसलमान समुदायका गरीब घरपरिवारलाई आर्थिक सहयोग दिइएको मदरसा नुरुल हुदाँ आधारभूत विद्यालयका सहायक प्रधानअध्यापक महम्मद अलीले जानकारी दिए ।

मुसलमा समुदायको बाक्लो बस्ती रहेको इस्लामपुरका दुई मस्जिदमा बिहान नुहाई धुवाई नमाज पढेका इस्लामी धर्मावलम्बीले आज सहयोग प्रदान गरेका हुन् । वडा नम्बर ४ का हजरत बेलाल जामे मस्जिद र अहले सुन्नत मस्जिदमा २ रकात नमाज पढिएको खुर्सिद अहमदले बताए ।

करीब १५० घरपरिवारको बसोवास रहेको इस्लामपुरमा रमदानका अवसरमा रोजा बस्न सहज होस् भनेर करीब ५० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको र अहिले आर्थिक अवस्था कमजोर भएका परिवारलाई रु २५ हजार वराबरको सहयोग गरिएको इस्लामिक सङ्घ नेपालका महासचिव अबुलकलाम मियाँले जानकारी दिए । मङ्गलबार साँझ चन्द्रमा हेरिएपछि एक महिना लामो रमाजान पर्व ९रोजा० पूरा गर्दै इद उल फित्र मनाइएको हो । एक महिना कठिन व्रत गर्दै विभिन्न इस्लामी ग्रन्थ पाठ गरी बस्ने प्रचलन छ ।