समाचार

सभापति देउवाद्वारा इद उलफित्रको शुभकामना

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पवित्र पर्व ‘इद उलफित्र’ का अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शुभकामना सन्देशमार्फत इद उलफित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको र यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

“लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको छ ।

लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ । ‘इद उलफित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वासका साथ सभापति देउवाले शुभकामना व्यक्त गरेका छन्।