बाग्मती

हामी नेपाली भौगोलिक विविधता परम्पराका धनी छौँ, धर्मलाई आत्मसाथ गर्नुपर्छ: सभामुख महरा

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा शुभकामना सन्देश दिएका छन् । आज जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायको सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना (इद मुवारक) व्यक्त गरेका हुन् ।

सभामुख महराले भने, “आत्म संयम र शुद्धिका लागि एक महीनासम्म मनाइने रमदान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट खुशीयालीका साथ मनाइने यस पर्वले नेपाली–नेपालीबीच आपसी सहिष्णुता, संयम, बन्धुत्वको भावना विकास गर्दै धार्मिक–सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मैले विश्वास लिएको छु ।”

हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको र बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय तथा भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन् भन्दै उनले हामी नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी छौँ र यही विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताए। सभामुख महराले यस पर्वले हामी सबैलाई धार्मिक–सांस्कृतिक सद्भाव, आपसी सहयोग र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरे।