गण्डकी प्रदेश

पोखरामा इद उलफित्र पर्व, आत्मशुद्धिका लागि एक महीनासम्म मनाइयो

पोखरा । पोखराका मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्नाका साथै गरीबलाई दान दिने गरेका छन् ।

पोखरा–१३ स्थित पुरानो इदगाहका साथै चिप्लेढुङ्गा र पृथ्वीचोकमा अवस्थित इदगाहमा स्थानीय मुसलमानले नमाज अदाका साथै एकअर्कालाई ‘इद मुवारक’ भन्दै शुभकामना आदान–प्रदान गरेका छन् । मुस्लिम धर्मगुरु हनिफ मियाँ भन्छन्, “ यस पर्वको अवसरमा इद मुवारक शब्दको माध्यमबाट एकअर्कालाई बधाई दिने गरिन्छ । इदको अर्थ उत्सव र मुवारकको अर्थ धन्य भएकाले इद उलफित्र पर्वको अवधिसम्म एकले अर्कालाई अभिनन्दन गर्ने क्रममा सो वाक्यको प्रयोग गर्ने गर्छन् ।”

आपसी भातृत्व र खुशीयाली पर्वको रुपमा मनाउने गरिएको यस पर्वमा मुस्लिम धर्मावलम्बीले आफ्ना देउता अल्लाह प्रति कृतज्ञता प्रकट गर्न मस्जिदमा नवाज अदा गर्नुका साथै सुख, शान्ति, एकता र उन्नतिको कामना गर्छन् । यस पर्वमा एकअर्कालाई उपहार दिनाका साथै पर्वमा सेवइलगायत परिकार पकाएर खाने गरिन्छ । यो पर्व मनाउन नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ ।