गण्डकी प्रदेश

एक वडा, एक स्वास्थ्य केन्द्र

दमौली । तनहुँको व्यास नगरपालिकाको छ वडामा स्वास्थ्य केन्द्र स्थापना हुने भएको छ । यसअघि स्वास्थ्य संस्था नभएका ठाउँमा नयाँ सो केन्द्र स्थापना हुन लागेको हो ।

व्यास नगरपालिकाको वडा नं १, २, ४, ५, ७ र १० मा नयाँ स्वास्थ्य केन्द्र स्थापनाको तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । जनतामा उपचारको पहुँच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा पहिलो चरणमा भवनसमेत निर्माण गरी सेवा प्रदान गर्न लागिएको उल्लेख गर्दै उनले स्वास्थ्यचौकी स्थापना र कर्मचारी राख्नका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराउने भएको जानकारी दिए ।

व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र न्यौपानेले पनि नगर कार्यपालिकाको बैठकले ठाउँको टुङ्गो लगाउने तर ठाउँ नभएसम्म तत्कालका लागि कोठा भाडामा समेत लिएर केन्द्र सञ्चालन गर्न सकिने बताए ।

स्वास्थ्य केन्द्र सञ्चालनका लागि नगरपालिकाले स्वास्थ्य सहायकका साथै दुई, स्टाफ नर्स दुई, अहेव चार, अनमी चार र कार्यालय सहयोगी छ जनाको माग गरी विज्ञापन प्रकाशित गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

वडामा रहेको जनसङ्ख्याको आधारमा स्वास्थ्यचौकी पहिलो र दोस्रो गरी वर्गीकरण गरिएको छ । सोही आधारमा पहिलोका लागि रू ६३ लाख ४६ हजार र दोस्रोका लागि रू। ३८ लाख ८६ हजार भवन निर्माणका लागि उपलब्ध गराइने भएको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा समेत दुई वर्षभित्र स्वास्थ्य संस्था नभएका वडामा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय गरेको थियो ।

व्यास नगरपालिकाले पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीस्थित भोर्लेटारचोकमा सार्वजनिक शौचालय निर्माणको प्रक्रियासमेत अगाडि बढाएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख सहयोगमा सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । नगरप्रमुख न्यौपानेले शौचालय निर्माणका लागि सार्वजनिक जग्गा खोजी भइरहेको जानकारी दिए । त्यस्तै नगरपालिकाको नयाँ नगरस्तरीय पुस्तकालय भवन निर्माण पूरा हुन लागेको समेत उनले जानकारी दिए ।

अष्ट्रेलियालीद्वारा स्वयंसेवा

अष्ट्रेलियन नागरिक स्टेफेनी हार्डरले व्यास नगरपालिकामा स्वयंसेवा शुरु गरेका छन् । अष्ट्रेलियन स्वयंसेवा संस्थामा आबद्ध हार्डरले व्यास नगरपालिकामा गत सातादेखि स्वयंसेवा शुरु गरेका हुन् ।

नेपालका विभिन्न स्थानमा स्वयंसेवा प्रदान गर्दै आइरहेको उक्त संस्थामा आबद्ध हार्डरले नगरपालिकाको शहरी विकासका योजनाबारे काम गर्ने व्यास नगरपालिकाका प्रमुख न्यौपानेले जानकारी दिए । उनका अनुसार नगरपालिकाले निर्माण गरिरहेको दीर्घकालीन विकास योजनामा समेत हार्डरले सहयोग गर्ने छन् ।

नगरप्रमुख न्यौपानेले अहिलेको संरचनाअनुरुप विगतका गाउँ विकास समितिका विभिन्न भाग नगरपालिकामा समेटिएकाले नगर र ग्रामीण भागको विकासलाई समान तरिकाले अगाडि बढाइ पूर्वाधार विकासमा समेत संस्थाको तर्फबाट महत्वपूर्ण सहयोग रहने बताए ।

अष्ट्रेलियन स्वयंसेवक कार्यक्रमका नेपालस्थित संयोजक राजेन्द्र खड्काले स्वयंसेवा गर्न लागिएको संस्थासँग समन्वयात्मक रुपमा काम गर्न सकिए अपेक्षित प्रतिफल हासिल गर्न सकिने जानकारी दिए। उक्त संस्थाले सन् १९९७ देखि नेपालका विभिन्न भागमा स्वयंसेवा सेवा प्रदान गर्दै आइरहेको छ ।