प्रदेश 2

बिरामी अन्यत्र पठाए अस्पताललाई जरिवाना

वीरगञ्ज । प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए ।

सो विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहुँदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था रहेको छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा रु एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताए ।

यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना गर्ने ब्यवस्था रहेको छ । विधेयकले ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पु¥याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको हो ।

हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताए ।