प्रदेश 2

प्रेसर हर्नको प्रयोगमा कडा निगरानी

सिरहा । यातायातका सवारी साधनमा प्रेसर हर्नको प्रयोग बढ्दै गएपछि केही दिनदेखि जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले त्यसको नियन्त्रण गरेको छ ।  ट्राफिक कार्यालयले पछिल्लो पटक जाँचका क्रममा ट्रक, बस तथा टिपरमा प्रेसर हर्न भेटाएपछि जफत गरेको कार्यालयका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

प्रेसर हर्नबाट निस्कने ध्वनि मानिसले श्रवण गर्न सक्ने मापदण्डभन्दा बढीको हुने भएकाले स्वास्थमा समेत प्रतिकूल असर पर्ने चिकित्सक बताउँछन् ।

कार्यालय मातहातका ट्राफिक चेक पोष्टले अचेल सवारी साधनमा प्रयोग भएका प्रेसर हर्न हटाउन समयसमेत दिएको उनले जानकारी दिए । ट्राफिक प्रहरीले दिएको सो समयभित्र हर्नको प्रयोगमा कमी नभए यातायात व्यवस्था कार्यालय र स्थानीय प्रशासनसँग मिलेर संयुक्त रुपमा काम गर्ने जनाइएको छ ।

खासगरी स्थानीय मार्गमा चल्ने सवारी साधनले निषेधित क्षेत्रमा प्रेसर हर्न प्रयोग गर्ने गरेकाले त्यसको निगरानीमा कडाइ गरिएको बस्नेतले बताए । उनले भने, “कति सवारी साधनमा निषेधित प्रेसर हर्नको प्रयोग भएको भन्नेबारे पहिचान गर्न बाँकी छ, प्रेसर हर्न नियन्त्रणका लागि काम भइरहेको छ ।” । यातायात व्यवस्था ऐन, २०४९ दफा ३९९१० ले प्रेसर हर्न जडान गर्न रोक लगाएको छ ।