सुदूरपश्चिम

बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ । बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताए ।

बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह नरोकिएकाले किशोरीहरुकै सक्रियतामा १० वटै वडामा घरमा झण्डा राख्ने काम भएको हो । बिहेवारि २० वर्षपारि भन्ने कुरा किशोरीहरुलाई सिकाउन र उनीहरुका अभिभावकहरुलाई पनि सिकाउनका लागि यो अभियान थालिएको उपप्रमुख बमले बताए।

प्रत्येक वडामा २५ देखि ३० जना किशोरी सम्मिलित किशोरीवृत्त गठन गरेर बालविवाह न्यूनीकरणका लागि झण्डा राख्ने कार्य भइरहेको जनाइएको छ । बालविवाहले पार्ने असरका बारेमा स्वयं किशोरीहरु चनाखो नहुँदा समस्या समाधान नहुने भएकाले किशोरीहरुकै सक्रियतामा पहिलो चरणमा एक हजार घरमा हरियो झण्डा राखिएको किशोरीवृत्तमा आबद्ध हरिना साउँदले बताए । यो अभियानले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।