बाग्मती

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाईकल सबैभन्दा बढी

चितवन । जिल्लामा दुर्घटनाका कारण मृत्यु हुने आधाभन्दा बढी मोटरसाइकलसँग सम्बन्धित रहेको तथ्याङ्कले देखाएको छ । साँघुरा सडक र बढ्दो सवारीका कारण दिनहुँ दुर्घटना हुने गरेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सवारी दुर्घटनामा मृत्यु भएका १२९ मध्ये ६५ जनाको मोटरसाइकल दुर्घटनाका कारण ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार, चालू आवमा भएका दुर्घटनामा परी निधन भएकामध्ये ५३ जना स्वयम् मोटरसाइकलमा रहेका थिए । मोटरसाइकलले ठक्कर दिएर नौ जना पैदल यात्रीको मृत्यु भएको छ भने तीन जना साइकल यात्रीले मोटरसाइकलकै ठक्करबाट ज्यान गुमाएका छन् । कार्यालयले मोटरसाइकल आफैँमा मात्र होइन अरूका लागि पनि असुरक्षित सवारी देखिएको जनाएको छ ।

उक्त अवधिमा २५३ वटा सवारी दुर्घटना भएका छन् । जसमा ३९२ सवारी साधन परेका थिए । ती दुर्घटनामा १७८ वटा मोटरसाइकल परेको कार्यालयले जनाएको छ । यसैगरी दुर्घटना पर्नेमा दोस्रो स्थानमा ट्रक÷ट्याङ्कर रहेका छन् । ६५ वटा ट्रक÷ट्याङ्कर दुर्घटनामा परेको कार्यालयको तथ्याङ्कमा देखाएको छ ।

त्यसैगरी बस, जीप, कार, तीनपाङ्ग्रे सवारी, ट्याङ्कर, टिप्पर, माइक्रोबस दुर्घटनामा परेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार अधिकांश मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुने गरेको छ । साँघुरो सडक, अत्यधिक सवारी चाप र तीव्र गतिका कारण दिनहुँ दुर्घटना हुने गरेको उनले बताए।

मोटरसाइकल दुर्घटनामा पर्नेहरु २० देखि ४० वर्ष उमेरसमूहका रहेको गिरीले जानकारी दिए। ठाउँठाउँमा सवारी चेकजाँच, जनचेतनाका कार्यक्रमसँगै गति परीक्षणका लागि उपकरण मगाउने काम पनि भइरहेको उनको भनाइ छ । कार्यालयले स्कूल–कलेजहरुका विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक जनचेतनाका कार्यक्रम पनि गर्दै आएको छ ।