खेलकुद

प्रधानमन्त्री कप: गण्डकीले सुदूर पश्चिमलाई ९० रनको लक्ष्य

काठमाडौँ । राजधानीमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूर पश्चिमाञ्चललाई जीतका लागि ९० रनको सामान्य लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलअन्तर्गत समूह चरणको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो ।

गण्डकी प्रदेशका लागि लागि राहुल शर्माले सर्वाधिक ४१ रन बनाउनबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । त्यसैगरी किशोर महतोले १४ रन जोड्दा आकाश थापाले १२ रन जोडे । गण्डकी प्रदेशलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका विनोद लामाले व्यक्तिगत पाँच विकेट लिए । त्यस्तै महेश अधिकारी र कप्तान शेर मल्लले दुई–दुई विकेटमा झारे भने नरेन्द्र साउदले एक विकेट लिए ।